१३ असोज,वीरगञ्ज । बडादशैँको दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीको अवसरमा वीरगञ्ज महानगरपालिका–१३ स्थित प्रसिद्ध राधेमाई मन्दिरमा परम्परागत रूपमा फूलपाती भित्र्याउने अनुष्ठान सम्पन्न गरिएको छ।
पूर्वमन्त्री तथा पर्सा–१ का पूर्वसांसद प्रदीप यादव स्वयं मातारानीको डोला बोकेर मन्दिर परिसरमा पुगेका थिए। शुभ साइतको समयमा हजारौं भक्तजनको सहभागितामा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याइएको हो।
मन्दिरमा डोला पुर्याएपछि यादवसहित भक्तजनहरूले पूजाअर्चना गर्दै देवी दुर्गाको आराधना गरेका थिए।पूर्वमन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र मनोकामना पूर्ण होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
राधेमाई मन्दिर वीरगञ्जको एक प्रमुख धार्मिकस्थल हो जहाँ विशेषगरी दसैँ र चैत नवरात्रको बेला ठूलो संख्यामा भक्तजनको भीड लाग्ने गर्छ।यसरी परम्परागत संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नु आवश्यक रहेको यादवले बताएका छन्।














