२६ असोज,बेइजिङ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि दुई देशबीचको व्यापार युद्ध फेरि चर्किने संकेत देखिएको छ। ट्रम्पको अभिव्यक्तिपछि चीनले आइतबार अमेरिकामाथि ’दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ।
पूर्वराष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (च्बचभ भ्बचतज भ्झिभलतक) मा कडाइ गर्दै ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्ध लगाएको भन्दै, आगामी नोभेम्बर १ देखि नयाँ अमेरिकी करहरू लागू गर्ने घोषणा गरेका हुन्। साथै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट रद्द गर्ने चेतावनी समेत दिएका छन्।
चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको भनाइलाई “दोहोरो मापदण्डको स्पष्ट उदाहरण“ बताउँदै आलोचना गरेको छ। मन्त्रालयले सेप्टेम्बरदेखि वासिङ्टनले चीनमाथि लगातार आर्थिक दबाब सिर्जना गर्ने निर्णयहरू लिएको भन्दै यस्ता धम्कीपूर्ण नीति चीनसँग व्यवहार गर्ने उचित तरिका होइन भनेको छ।
ट्रम्पले चीनमाथि फेन्टानिलको अवैध व्यापारमा संलग्नता र अनुचित व्यापार अभ्यास गरेको आरोप लगाएका छन्। हाल अमेरिका चीनबाट आयात हुने सामानमा ३० प्रतिशत कर लगाइरहेको छ भने चीनले त्यसको जवाफमा १० प्रतिशत कर लगाउँदै आएको छ।
दुई महाशक्तिबीचको विवादको केन्द्रमा रहेको दुर्लभ पृथ्वी तत्वहरू स्मार्टफोन, भ्ख्, सैन्य उपकरण र नवीकरणीय ऊर्जा उपकरण निर्माणमा अत्यावश्यक हुन्छन्। चीनले विश्वव्यापी दुर्लभ खनिज उत्पादनमा प्रमुख भूमिका खेलिरहेको छ। बिहीबार चीनले यस्ता खनिजको प्रविधिमा नयाँ निर्यात नियन्त्रण घोषणा गरेपछि अमेरिका रुष्ट भएको हो।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत चीनले “विश्वलाई बन्धक बनाउने प्रयास” गरिरहेको आरोप लगाएका छन्। उनले चीनको कदमलाई “अत्यधिक शत्रुतापूर्ण” करार गरेका छन्।
ट्रम्पले दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) सम्मेलनमा चिनियाँ राष्ट्रपति सीसँग हुने भनिएको भेट रद्द गर्ने धम्की पनि दिएका छन्। ट्रम्प सत्तामा फर्किएपछि हुने यो सम्भावित पहिलो प्रत्यक्ष भेट हो, जसमा दुबै देशबीचको तनाव कम गर्ने अपेक्षा गरिएको थियो।
गत शुक्रबार चीनले अमेरिकाबाट आउने जहाजहरूमा ’विशेष बन्दरगाह शुल्क’ लगाउने घोषणा गरेको थियो। चीनले यो कदमलाई अमेरिका विरुद्धको “रक्षात्मक प्रतिक्रिया” बताएको छ। ट्रम्प प्रशासनले अप्रिलमा आफ्नै जहाज निर्माण उद्योग जोगाउन शुल्क वृद्धि गरेको थियो, जसले चीनको हितमा गम्भीर असर पारेको बेइजिङको दाबी छ।

















