Logo

२७ असोज, वीरगंज । वीरगंज महानगरपालिकामा फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणको दिशामा एक महत्त्वपूर्ण कदम चालिएको छ। वीरगंज महानगरपालिका, Zero Waste Initiative Nepal र Surya Nepal Pvt. Ltd. बीच आज एक त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। यो सम्झौताले वीरगंजलाई फोहोरमुक्त र वातावरणमैत्री सहर बनाउने दीर्घकालीन योजनालाई अघि बढाउनेछ।

करिब चार करोड रुपैयाँको लगानीमा सञ्चालन हुने यो परियोजना पूर्ण रूपमा निजी क्षेत्रको लगानीमा निर्माण हुनेछ। परियोजना निर्माण सम्पन्न भएपछि सम्पूर्ण संरचना र प्रणाली वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ।

सम्झौता कार्यक्रम वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा महानगरपालिकाका प्रशासकीय प्रमुख अर्बिन्दलाल कर्ण, Zero Waste Initiative Nepal का प्रतिनिधि, तथा Surya Nepal Pvt. Ltd. का पदाधिकारीहरूको सहभागिता रहेको थियो।

परियोजनाका मुख्य लक्ष्यहरू:

यस परियोजनाबाट शहरभित्र उत्पन्न हुने दैनिक फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रयोग र रिसाइकलिङ प्रणालीलाई सुदृढ बनाइनेछ। यसका साथै, प्लास्टिकजन्य फोहोर घटाउने, स्रोतमै फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गर्ने र सरसफाइ व्यवस्थापनमा निजी क्षेत्रको सहकार्यलाई बलियो बनाउने महानगरको योजना छ।

मेयर सिंहले सम्झौता कार्यक्रममा बोल्दै भने, “यो सम्झौता वीरगंजलाई सफा, हरित र दिगो सहर बनाउने हाम्रो प्रतिबद्धताको एउटा ठोस पहल हो। अब वीरगंजले फोहोरलाई समस्या होइन, समाधानको उदाहरण प्रस्तुत गर्नेछ।”

महानगरका अनुसार, यस परियोजना अन्तर्गत आधुनिक फोहोर संकलन केन्द्र, कम्पोस्ट प्लान्ट र रिसाइकलिङ प्रणाली स्थापना गर्ने तयारी भइरहेको छ।

यो त्रिपक्षीय सम्झौतासँगै वीरगंज महानगरपालिकाले फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको विश्वास गरिएको छ।


सम्बन्धित समाचार