३ कार्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध अमेरिकाभर एकैसाथ आयोजित प्रदर्शनमा करिब ७० लाखभन्दा बढी नागरिक सहभागी भएका छन्। देशभरका २ हजार ६ सयभन्दा बढी स्थानहरूमा एउटै दिनमा भएका प्रदर्शनहरू शान्तिपूर्ण ढंगले सम्पन्न भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति, महिला अधिकारमाथिको हस्तक्षेप, वातावरणीय संरक्षणमा गरिएको बजेट कटौती, र प्रेस तथा न्यायालयमाथिको दबाब सिर्जना गर्ने प्रयासको विरोध गरेका थिए ।
अमेरिकी अधिकारीका अनुसार, यति ठूलो संख्यामा नागरिक सडकमा उत्रँदा पनि एक जना प्रदर्शनकारी समेत पक्राउ परेनन्। कुनै अप्रिय घटना नघटेको तथ्यलाई लोकतान्त्रिक संस्कार र नागरिक चेतनाको उच्च स्तरको उदाहरणका रूपमा लिइएको छ।
विश्लेषकहरूले यो आन्दोलनलाई ट्रम्प प्रशासनप्रति अमेरिकी जनतामा बढ्दो असन्तुष्टिको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्।
राजधानी वासिङ्टन डीसी सहित न्युयोर्क, सिकागो, सान फ्रान्सिस्को, ह्युस्टन, सियाटल र लस एन्जलसलगायत प्रमुख सहरमा विशाल जनसमूहले सडकमा शान्तिपूर्ण जुलुस निकालेका थिए।
प्रदर्शनमा महिलादेखि विद्यार्थी, पूर्वसैनिक, शिक्षक, कलाकार, व्यवसायी र सामाजिक अभियन्तासम्मको उपस्थिति रहेको थियो, जसले अमेरिकी समाजका सबै तह र वर्गको प्रतिनिधित्व गरेको देखिएको छ।
सामाजिक सञ्जालमा #StandForFreedom र #MarchForJustice ह्यासट्यागहरू तीव्र गतिमा ट्रेन्ड भइरहेका छन् । फोटो, भिडियो र प्रत्यक्ष प्रसारणमार्फत आन्दोलनको गतिविधि देशभर फैलिएको थियो।
राजनीतिक विश्लेषकहरूको भनाइमा, अमेरिकाको हालसालैको इतिहासमा यति ठूलो संख्यामा नागरिक एकैपटक सडकमा उत्रिएको यो पहिलो अवसर हो।
उनीहरूले यसलाई लोकतान्त्रिक मूल्य, स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा जनताको एकजुट अभिव्यक्तिका रूपमा मूल्याङ्कन गरेका छन्।















