४ कार्तिक, वीरगञ्ज । दीपावलीको उत्सवपछि भारतको राजधानी दिल्ली र आसपासका क्षेत्र (एनसीआर) मा वायु प्रदूषणको स्तर अत्यन्तै खतरनाक बनेको छ। वायुमण्डलमा प्रदूषण यति तीव्र बनेको छ कि राजधानी हाल ‘ग्यास चेम्बर’मा परिणत भएको जनाइएको छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) का पछिल्ला तथ्यांकअनुसार आज बिहान दिल्लीको औसत वायु गुणस्तर सूचकांक (AQI) ५३१ पुगेको छ । यसले वायु गुणस्तरलाई ‘गम्भीर श्रेणी (Severe Category)’ मा पुर्याएको हो ।
दिल्लीका ३८ वायु निगरानी केन्द्रमध्ये ३४ वटा केन्द्रले वायु गुणस्तरलाई “रेड जोन” अर्थात् “अत्यन्तै खराब” श्रेणीमा मापन गरेका छन् ।
राजधानीको नरेला क्षेत्र सबैभन्दा प्रदूषित छ, जहाँ AQI ५५१ पुगेको छ । त्यस्तै अशोक विहारमा ४९३, आनन्द विहारमा ३९४, नोएडामा ३६९, र गाजियाबादमा ४०२ मापन गरिएको छ । यी सबै सूचकांक “अत्यन्तै खराब” श्रेणीमा पर्छन् । तुलनात्मक रूपमा चण्डीगढमा AQI १५८ रह्यो, जुन दिल्ली–एनसीआरको तुलनामा धेरै राम्रो मानिन्छ।

स्वास्थ्यमा गम्भीर प्रभाव
स्वास्थ्य विज्ञहरूले वायु प्रदूषणको यो स्तरलाई “सार्वजनिक स्वास्थ्य आपतस्थिति”को रूपमा लिएका छन् । प्रदूषणका कारण आँखा पोल्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, फोक्सो र मुटुका रोगहरू बढ्ने जोखिम अत्यधिक रहेको उनीहरू बताउँछन्।
भारतीय संचारमाध्यमहरुले गाजियाबाद र नरेला क्षेत्रमा आँखा जल्ने र सास फेर्न कठिन हुने समस्या व्यापक देखिएको स्थानीय बासिन्दाहरूले बताएका कुरा उल्लेख गरेका छन् ।
विशेषज्ञहरूका अनुसार, दीपावलीका अवसरमा गरिएको आतसबाजी, सवारीसाधनको उत्सर्जन, तथा मौसमी धुलो र कम हावाको गतिका कारण प्रदूषणको स्तर असामान्य रूपमा बढेको हो। हावाको गति सुस्त र तापक्रम कम भएकाले धुवाँ र धुलो माथि नउठी सतहमा जम्ने गरेका छन्, जसले वायुमण्डललाई अझ प्रदूषित बनाएको हो।
दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि ग्रेडेड रेस्पोन्स एक्शन प्लान (GRAP) अन्तर्गत विभिन्न कदमहरू सक्रिय गर्ने तयारी गरिरहेको जनाएको छ । यस योजनाअनुसार विद्यालय बन्द, निर्माण कार्यमा रोक, सवारीसाधनमा प्रतिबन्ध, र खुला आगो दहनमा कडाइ गर्ने व्यवस्था लागू हुन सक्छ ।
तर, विशेषज्ञहरूको भनाइमा, यसरी अस्थायी उपायले मात्र समस्या समाधान नहुने भएकाले सरकार र स्थानीय प्रशासनले दीर्घकालीन रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको छ ।
डाक्टरहरूले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई घर बाहिर ननिस्कन सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले पनि आम नागरिकलाई मास्क प्रयोग, घरभित्र हावा शुद्ध गर्ने यन्त्र (एयर प्युरिफायर) प्रयोग र बिहान–बेलुकी बाहिरी गतिविधि सीमित गर्न अनुरोध गरेको छ ।
वातावरणविद् डा. रजनीश अग्रवालका अनुसार, “यदि तुरुन्तै नियन्त्रणका प्रभावकारी उपायहरू अपनाइएन भने दिल्ली–एनसीआरमा यो अवस्था केही सातासम्म स्थायी बन्न सक्छ, जसले हजारौँको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउनेछ।”

















