Logo

४ कार्तिक, काठमाडौँ ।  यमनमा हुथी विद्रोहीद्वारा दुई दिनअघि पक्राउ परेका संयुक्त राष्ट्रसंघ (यूएन) का कर्मचारीहरूलाई मुक्त गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी निकाय युनिसेफका यमन प्रतिनिधि पिटर हकिन्ससहित करिब २० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्मचारीहरूलाई हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको थियो।

शनिबार यमनस्थित यूएन कार्यालयले हुथी सुरक्षाकर्मीहरूले एक सानो कम्पाउण्डमा अनधिकृत प्रवेश गरेर ती कर्मचारीहरूलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै उक्त कार्यको निन्दा गरेको थियो। समाचार संस्था एएफपीका अनुसार विद्रोहीहरू सानास्थित संयुक्त राष्ट्रसंघको परिसरमा पसेर छापा मारेका थिए।

इरान समर्थित हुथी समूहको नियन्त्रणमा रहेको क्षेत्रमा पछिल्ला केही महिनामा संयुक्त राष्ट्रसंघका दर्जनौँ कर्मचारीहरू पक्राउमा परेका छन्। यसअघि, सेप्टेम्बर महिनाको मध्यतिर, संयुक्त राष्ट्रसंघका मानवीय समन्वयकलाई हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेको राजधानी सानाबाट सरकारको अस्थायी राजधानी एडेनमा स्थानान्तरण गरिएको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार यमन दशकौँदेखि चलिरहेको गृहयुद्धका कारण विश्वकै सबैभन्दा खराब मानवीय संकट भोगिरहेको मुलुक हो। लाखौं नागरिक भोकमरी, रोग र सुरक्षित बसोबासको अभावमा परेका छन्।

संयुक्त राष्ट्रसंघले कर्मचारीहरूको सुरक्षित र स्वतन्त्र गतिविधिमा अवरोध पुर्‍याउने कार्यको विरोध गर्दै यमनका सबै पक्षसँग अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न आह्वान गरेको छ।


सम्बन्धित समाचार