६ कात्तिक,काठमाडौं । मध्य नाइजेरियाको नाइजर राज्यमा भएको भीषण पेट्रोल ट्यांकर विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।
घटना नाइजर राज्यको काचा क्षेत्रस्थित एस्सा गाउँमा भएको हो। संघीय सडक सुरक्षा विभागकी सेक्टर कमान्डर आइशातु साडुका अनुसार, दुर्घटनाग्रस्त ट्यांकरबाट पेट्रोल निकाल्न केही स्थानीय बासिन्दा भेला भएको बेला अचानक विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको हो।
“पेट्रोल ट्यांकर पल्टिएपछि केही मानिसहरू पेट्रोल संकलन गर्न पुगेका थिए। सोही समयमा ट्यांकरमा विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४५ जना गम्भीर रूपमा घाइते भएका छन्,” साडुले प्रहरीको प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै बताइन्।
उनी अनुसार, घाइतेमध्ये धेरै जना गम्भीर रूपमा जलेका छन् र नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ। उद्धार टोली र सुरक्षाकर्मीहरूले घटनास्थलमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गरेका छन्।
मंगलबार राति जारी विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यस घटनालाई “चिन्ताजनक, दुर्भाग्यपूर्ण र अत्यन्त दयनीय” भन्दै गहिरो शोक व्यक्त गरेका छन्। उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको उपचारमा राज्य सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्।
नाइजेरियामा यसअघि पनि यस्ता इन्धन ट्यांकर दुर्घटनापछि विस्फोटका घटनाहरू बारम्बार हुने गरेका छन्, जसमा पेट्रोल संकलन गर्न गएका स्थानीयले प्राण गुमाउने गरेका छन्। विज्ञहरूका अनुसार, इन्धन चोरी र कमजोर सुरक्षाका कारण यस्ता दुर्घटनाहरू रोकथाम गर्न चुनौतीपूर्ण बनेका छन्।

















