Logo

७ कात्तिक, काठमाडौं।  बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मुद्दाको बिहीबार सुनुवाइ पूरा भएको छ। बंगलादेशका महान्यायाधिवक्ताका अनुसार, यस मुद्दाको फैसला आउँदो नोभेम्बर १३ मा सुनाइने भएको छ।

हाल भारतमा निर्वासनमा रहेकी हसिनामाथि गत वर्ष जुलाईमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप लागेको छ।

न्यूज एजेन्सी एएफपीका अनुसार, हसिनाको अनुपस्थितिमै गत जुन १ मा उक्त मुद्दा दायर गरिएको थियो। प्रत्यक्षदर्शीहरूले अदालतमा बयान दिँदै हसिनाले सामूहिक हत्याको आदेश दिएको दाबी गरेका छन्। ती साक्षीमध्ये एकजना प्रदर्शनका क्रममा गोली लागेर अनुहार गम्भीर रूपमा क्षतविक्षत भएका व्यक्ति रहेका छन्।

अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप पनि प्रस्तुत गरेको छ। त्यसमा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न निर्देशन दिएको संकेत रहेको अभियोजन पक्षको भनाइ छ।

अभियोजकहरूले अदालतसँग हसिनालाई दोषी ठहर गरिए मृत्युदण्डको सजाय सुनाउन माग गरेका छन्।

शेख हसिना सन् २००९ देखि २०२४ सम्म बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार उल्लंघनका आरोपहरू बारम्बार उठ्ने गरेका थिए।


सम्बन्धित समाचार