१० कात्तिक, काठमाडौं । मंसिरको अन्तिम साता हुने महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी सदस्य संख्या टुङ्ग्याएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको पार्टी सदस्य संख्या अब ६ लाख ६३ हजार कायम भएको छ । पार्टी संगठन विभागले अद्यावधिक गरेको यही सदस्य संख्यालाई महाधिवेशन प्रतिनिधि छनोटको आधार बनाइने भएको छ ।
प्रचार विभाग प्रमुख गौतमले जानकारी दिँदै भने, “महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ।” उनले महाधिवेशन प्रतिनिधि छनोट लगायतका तयारीबारे आगामी हप्ता बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।
सदस्यता २८ प्रतिशतले वृद्धि
पार्टी सदस्य संख्या लगभग टुङ्गिएको जानकारी दिँदै स्थायी कमिटी सदस्यसमेत रहेका गौतमले यसअघिको सदस्य संख्या ५ लाख ४० हजार रहेकोमा यसपटक २८ प्रतिशतले सदस्य संख्या वृद्धि गरिएको स्पष्ट पारेका छन् ।
पार्टीले महाधिवेशनको मिति नजिकिँदै गर्दा सांगठनिक तयारीलाई तीव्रता दिएको छ, जसअन्तर्गत प्रतिनिधि चयनको विधि र मापदण्ड सचिवालयको आगामी बैठकले तय गर्नेछ ।

















