Logo

१० कात्र्तिक, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कास्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट एकजना स्कुटर चालकको ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छिन् ।

आज बिहान करिब ९ः३० बजे चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको एन एल १ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले पुष्टि गरे। मृतकको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ।

श्रीमतीको अवस्था गम्भीर, छोरा सामान्य

दुर्घटना हुँदा स्कुटरमा चालक श्रेष्ठसहित उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ पनि सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएकी सरस्वतीको हाल चितवनस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ। यद्यपि, दुई वर्षीय छोरा प्रविनको अवस्था भने सामान्य रहेको र उनी आमाकै साथमा रहेको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने ग्यास बुलेटका चालक भारत, बिहार बस्ने ५५ वर्षीय मोहमद मतिनलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार