१३ कात्तिक,रुपन्देही । तुलसीपुर उच्च अदालत बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ।
न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवैको मुद्दा चौथो नम्बरमा सूचीकृत भए पनि जोशीका कानुन व्यवसायीले स्थगितको निवेदन दिएपछि लामिछानेको सुनुवाइ पनि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। उनले भने, “जोशीको तर्फबाट कानुन व्यवसायीले स्थगितको निवेदन दिएका कारण लगाइएको मुद्दा समेत स्थगित भएको हो। अब अर्को हप्ता पेशी तोकिनेछ।”
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीका मुद्दा एउटै प्रकृतिका भएकोले संयुक्त रूपमा सुनुवाइ गर्ने आदेश गरेको थियो।
बुटवलको सुप्रिम सहकारी संस्थाबाट रकम ठगी र संगठित अपराधको आरोपमा दुवै जना थुनामा छन्। जोशी भैरहवा कारागारमा छन् भने लामिछाने केही समयअघि भैरहवाबाट नख्खु कारागार सारिएका छन्।
लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी रिहा हुन माग गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यसअघि जिल्ला अदालत रूपन्देहीले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो। उक्त प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गरेका छन्।
सरकारी वकिल र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच आज बहस हुने तयारी भए पनि सुनुवाइ स्थगित भएको छ। अदालतले स्थगितको सूचना सार्वजनिक गर्दै अर्को पेशीको मिति तोक्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
















