Logo

१५ कात्तिक,काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोग समितिको सचिवालय बैठक राजधानी पेरिडाँडामा जारी छ। बैठकमा नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता प्रक्रियाबारे गहन छलफल भइरहेको छ।

एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा (माओवादी केन्द्र) सहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने औपचारिक निर्णय गरेको थियो। त्यसपछि माओवादी केन्द्रले पनि सचिवालय बैठक बोलाएर एकता प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक तयारी थालिएको हो।

माओवादीले यसअघि केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टीहरूबीच एकता गर्न नीति र निर्णय गरिसकेको थियो। अब एकीकृत समाजवादीको स्पष्ट निर्णयपछि माओवादीले सचिवालयमार्फत ठोस कदम चाल्ने तयारी गरेको बताइएको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू उपस्थित छन्। बैठकमा एकता प्रक्रिया, आगामी महाधिवेशनको तयारी तथा संगठन सुदृढीकरणबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ।


सम्बन्धित समाचार