१५ कात्तिक,सिम्रौनगढ। बारा उद्योग वाणिज्य संघ शाखा सिम्रौनगढको दशौं साधारण सभा तथा सातौं अधिवेशन आज संघकै सभाहलमा सम्पन्न भएको छ। सभाको उद्घाटन सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले पानसमा बत्ती बालेर गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बारा उद्योग वाणिज्य संघ, कलैयाका अध्यक्ष राजकुमार साहले सिम्रौनगढ ऐतिहासिक, धार्मिक र कृषि सम्भावनायुक्त क्षेत्र भएकाले यसको समग्र विकासका लागि स्थानीय सरकार र जनसमुदायको साझा पहल आवश्यक रहेको बताउनुभयो। उहाँले विकासका लागि केन्द्रमा मात्रै निर्भर नभई स्थानीय तहबाटै योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष साहले उद्योग वाणिज्य संघको मुख्य समस्या सीमा क्षेत्र (बोर्डर) सम्बन्धी रहेको उल्लेख गर्दै यसको समाधानका लागि संघले अर्थमन्त्रीसम्म कुरा पुगेको जानकारी दिनुभयो। उहाँले नेपाली बजारमा अहिले भारतभन्दा कम मूल्यमा सामान उपलब्ध हुन थालेको उल्लेख गर्दै स्वदेशी उत्पादन र बजारप्रतिको विश्वास बढाउन आग्रह गर्नुभयो।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले गर्नुभएको थियो। सभामा प्रमुख अतिथि नगर प्रमुख किशोरी प्रसाद कलवार, महासचिव रामाशिष साह, कोल्हवीका अध्यक्ष रामु प्रसाईँ, निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष रामबाबु कुशवाहा, वडा अध्यक्ष अवधेश सहनी, समाजसेवी दिनदयाल मुखिया, रामएकवाल यादव, पत्रकार रामबाबु मेहता, रामेश्वर मेहता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संघका सचिव रामबाबु प्रसाद कुशवाहाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने सञ्चालन दीपक कुमारले गर्नुभएको थियो। सो अवसरमा अतिथिहरूलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो।
















