Logo

१५ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पहलमा सुरु भएको वाम एकता प्रक्रियामा सात वटा राजनीतिक दल सहभागी हुने भएका छन् । माओवादी केन्द्रका वरिष्ठ नेता अग्नि प्रसाद सापकोटाका अनुसार एकता गर्ने सहमति भइसकेका दलहरूको संख्या सात पुगेको हो ।

एकतामा सामेल हुने दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (एमाले)बाट अलग भएको समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी, र चिरण सी नेतृत्वको विप्लव समूहबाट अलग भएको समूह रहेका छन् ।

माओवादी केन्द्रले शनिबार सचिवालय बैठक बसेर एकता प्रक्रियासम्बन्धी विषयमा छलफल गरेको थियो । बैठकपछि नेता सापकोटाले वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत सहमति भइसकेको र अब प्राविधिक तथा सांगठनिक विषयमा छलफल भइरहेको जानकारी दिए ।

“वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब फाइनल भइसकेका छन् । आज प्राविधिक र सांगठनिक विषयमा छलफल भयो,” सापकोटाले भने ।

नेताहरूका अनुसार, एकता सम्पन्न भएपछि बन्ने नयाँ पार्टीको संयोजकमा प्रचण्ड र सह–संयोजकमा माधवकुमार नेपाल रहने प्रस्तावमा छलफल भइरहेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो भने माओवादी केन्द्रले त्यसको भोलिपल्ट सचिवालय बैठक बसेर त्यसलाई अगाडि बढाएको हो ।

माओवादी केन्द्रले एकताको निर्णय अनुमोदनका लागि यही कात्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

सचिवालय बैठकपछि अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा रहेका दलहरूको एकता सभा एक साताभित्रै हुने जानकारी दिएका छन् । उनका अनुसार, फरकमत राख्ने पक्षहरूसँग पनि निरन्तर संवाद भइरहेको छ र सबै दलहरू एकताबद्ध भएर अघि बढ्ने सहमति बनिरहेको छ ।


सम्बन्धित समाचार