१६ कात्तिक,काठमाडौं। नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।
यसअघि शुक्रबारका लागि तय गरिएको बैठक पनि बस्न नपाई स्थगित गरिएको थियो। लगातार दुईपटक स्थगन भएपछि कांग्रेसभित्रको १५औं महाधिवेशन मिति निर्धारणसम्बन्धी विवाद झन् तीव्र बनेको छ।
शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सहमतिको प्रयास गरे पनि निष्कर्षमा पुग्न नसकेपछि आजको बैठक पनि स्थगित गरिएको हो।बैठकमा महामन्त्री र संस्थापन पक्षबीच कार्यतालिकामा मतभेद देखा परेको थियो।
महामन्त्री विश्वप्रकाश शर्माले “महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विषयमा भोटिङ गरिनु पर्ने” प्रस्तावसमेत गरेका थिए।विवाद समाधानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताहरूसँग छलफलको तयारी गरेको बताइएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, स्थगित बैठक अब १८ कात्तिक दिउँसो १ बजे बस्नेछ।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
















