१६ कात्तिक,काठमाडौं। जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार ज्यान मार्ने उद्योगका फरार प्रतिवादीसँग फेला परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले सो हतियारको अनुसन्धान क्रममा काभ्रेका २२ वर्षीय वाङ्सु लामा (उर्फ राजा) लाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, लामालाई शुक्रबार गौशालाबाट पक्राउ गरिएको हो।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा लुटिएको ग्यास गन र तीन थान कार्टिज (गोली) काठमाडौं–७ लाहुरे टोलस्थित एउटा खाजाघर बाहिर कुर्सीमा राखिएको झोलाभित्र फेला परेको थियो।
सो स्थानमा वाङ्सु त्यतिबेला उपस्थित नभए पनि सूचनाका आधारमा अनुसन्धान विस्तार गरी पछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, वाङ्सु लामा प्रहरी वृत्त बौद्धमा दर्ता ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका फरार प्रतिवादी हुन्। जिल्ला अदालत काठमाडौंले साउन ७ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेको थियो, तर उनी त्यसपछि भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर हतियार लुटपाट र ज्यानमार्ने उद्योग दुवै मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।
















