१६ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँडबारे सैद्धान्तिक सहमति भइसकेको भए पनि विभिन्न दलहरूले आफ्नो कोटाका मन्त्रीहरूको नाम अन्तिम रूप नदिएकाले फिलहाल तीन सदस्यीय सरकार नै रहने भएको हो।
स्रोतका अनुसार विश्वासको मत लिनुभन्दा अघि मन्त्रिपरिषद् विस्तार गर्दा जनमत पार्टीभित्र असन्तुष्टि र विभाजनको सम्भावना देखिएकाले मुख्यमन्त्री सोनलले तत्कालका लागि संयमता अपनाउने रणनीति लिएका छन्।
मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथपछि दुई जना मन्त्रीलाई मात्र शपथ गराएका छन्। हालसम्म मन्त्रालयहरूको जिम्मेवारी तोकिएको छैन र सबै मन्त्रालयहरूको कार्यभार मुख्यमन्त्रीकै काँधमा छ।
सत्ता गठबन्धनको शक्ति समीकरण
मधेस प्रदेशमा हाल सात दल मिलेर सत्ता गठबन्धन बनेको छ। जसमा जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन्।
सहमति अनुसार जसपा नेपालले ४ वटा, जनमत पार्टीले ३ वटा, नेकपा माओवादी केन्द्रले २ वटा, नेकपा एकीकृत समाजवादी र लोसपा नेपालले १/१ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ।
जसपाको तयारी अन्तिम चरणमा
जसपा नेपालले आफ्ना मन्त्रीहरूको नाम लगभग टुंगो लगाइसकेको बताइएको छ। रामअशिष यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व दिने, मनिष सुमनलाई शिक्षा तथा संस्कृति मन्त्रालय र राजु गुप्तालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ। चौथो मन्त्रालयको जिम्मेवारी भने अझै खुलाइएको छैन, तर रौतहट वा बाराबाट प्रतिनिधित्व गराउने सम्भावना रहेको जसपा स्रोतले बताएको छ।
नेकपा माओवादी केन्द्रले नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी गरे पनि नाम टुंगो लगाएको छैन। जनमत पार्टीका तर्फबाट एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना विनाविभागीय मन्त्री हाल सरकारमा छन्। जनमतले बाँकी दुई मन्त्रालयका लागि पुराना अनुहार नै दोहोर्याउने सम्भावना रहेको बताइन्छ।
लोसपा नेपालले पुनः रानी शर्मालाई मन्त्री बनाउने लगभग पक्का भएको छ। पार्टीभित्र सन्तुलन कायम राख्न उनको पुनः सहभागिता आवश्यक रहेको लोसपाका नेताहरूको धारणा छ।
२२ गते विश्वासको मत, २३ गते मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री सोनलले कात्तिक २२ गते (शनिबार) प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत प्राप्त गरेलगत्तै २३ गते आइतबार मन्त्रिपरिषद् विस्तार हुने सत्ता गठबन्धनका नेताहरूले बताएका छन्।
५८ जना सांसदको समर्थनमा गठबन्धन रहेकोले विश्वासको मत लिन मुख्यमन्त्रीलाई कठिनाइ नहुने देखिएको छ। यद्यपि, जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतीश कुमार सिंह र सांसद त्रिभुवन साहले पार्टी परित्याग गरी जनस्वराज पार्टी रोजेका छन्। जसपाका एक सदस्य निलम्बित छन्।
तर यी परिवर्तनहरूले पनि सरकारको स्थायित्वमा ठुलो असर नपर्ने विश्लेषण गरिएको छ। विपक्षी दलमा नेकपा एमालेका २३ जना, नेपाली कांग्रेसका २२ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ जना सांसद छन्।
लोसपा नेपालका केन्द्रीय महासचिव परमेश्वर साहले मुख्यमन्त्री सोनलको सरकारलाई बलियो बनाउन कांग्रेस र एमालेसँग पनि समर्थनका लागि आग्रह गरिएको बताए।
उनले भने, “हामी चाहन्छौं मधेसमा स्थिर र विकासोन्मुख सरकार बनोस्। जेनजी आन्दोलनपछि मधेस सरकारमाथि थप चुनौती आएका छन्, ती चुनौती सामना गर्न सबै दलको सहयोग आवश्यक छ।”
साहका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
















