१८ कात्र्तिक, काठमाडौं । रुपन्देहीको भैरहवास्थित प्रतिष्ठित होटल निर्वाणाको मुख्य गेटअगाडि गएराति गोली चलेको छ ।
गोली प्रहारबाट होटलका एक सुरक्षागार्ड सामान्य घाइते भएका छन् । यो घटनापछि गोली चलाउने समूह फरार रहेको र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीहरूको खोजी तीव्र पारेको जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार, घटनाको पृष्ठभूमिमा होटल निर्वाणाभित्रको क्यासिनोमा दुई समूहबीच भएको विवाद रहेको छ । क्यासिनोभित्र सुरु भएको विवाद बढ्दै जाँदा ती समूहहरू होटलको गेटअगाडि आइपुगेका थिए । त्यसैक्रममा एक समूहले एक्कासी गोली चलाएको थियो । एसपी क्षेत्रीका अनुसार गोली चलाउने समूहमा रहेका तीन जना व्यक्ति फरार रहेका छन् ।
प्रहरीले फरार समूहको पहिचान र खोजी कार्य जारी राखेको छ । घटनाबारे थप जानकारी लिनका लागि क्यासिनोमा रहेका केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिएका छन् । यस घटनाले भैरहवा क्षेत्रको सुरक्षा अवस्थामाथि प्रश्नचिह्न खडा गरेको छ ।
















