१८ कात्र्तिक, काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको घटनामा अनुसन्धान अगाडि बढाउन माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा औपचारिक जाहेरी दिएका हुन् । परिसरका एसएसपी रमेश थापाले अदालतका तर्फबाट जाहेरी प्राप्त भएको पुष्टि गर्दै अब अनुसन्धान प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । जाहेरी प्राप्त भएसँगै प्रहरीले अदालत परिसरमा भएको तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरिसकेको छ । प्रहरी उनीहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सक्रिय भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति पुगेको थियो । सो क्रममा अदालतका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए । अदालतको सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्नहरूलाई कानुनी प्रक्रियामा ल्याउन यो जाहेरी महत्त्वपूर्ण कदम मानिएको छ ।















