१९ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सोनलले यही मंसिर २२ गते (२२ गते) प्रदेश सभाबाट विश्वासको मत लिने कार्यतालिका मिलाइदिन प्रदेश सभा सचिवालयलाई औपचारिक अनुरोध गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामबाट जारी पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरिएको उल्लेख छ। उक्त पत्र प्रदेश सभा सचिवलाई सम्बोधन गरिएको छ भने यसको प्रतिलिपि प्रदेश सभा प्रमुखलाई समेत पठाइएको छ।
मुख्यमन्त्री सोनलले आफ्नो नेतृत्वको सरकारप्रति प्रदेश सभाको समर्थन सुनिश्चित गर्न संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाउने तयारी गरेका हुन्।
विश्वासको मतका लागि मधेश प्रदेशको राजनीतिक समीकरण कस्तो रहने भन्नेबारे दलहरूबीच हाल छलफल चलिरहेको छ। मुख्यमन्त्री सोनलले हालै गठन गरिएको सरकारलाई स्थायित्व दिन दलहरूबीच सहमतिको प्रयास भइरहेको बताइएको छ।
















