Logo

१९ कात्र्तिक, काठमाडौं । बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित १० वटा कम्युनिस्ट पार्टीहरूको संयुक्त राष्ट्रिय सम्मेलनले नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ को भविष्यका लागि एकतासम्बन्धी नौ महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन गरेको छ ।

नेता वर्षमान पुनले पढेर सुनाएका ती प्रस्तावहरूअनुसार, यो एकता प्रक्रियामा सहभागी सबै दलहरू अब औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीका सदस्य बनेका छन् र पार्टीको निर्वाचन चिन्ह पाँच कुने तारा हुने निर्णय गरिएको छ। यस सम्मेलनले पार्टीको अन्तरिम विधान २०८२ र घोषणापत्रलाई पनि अनुमोदन गरेको छ । संगठनात्मक संरचनाको सवालमा, सबै घटकका नेताहरूसँग परामर्श गरेर केन्द्रीय समिति र अन्य संरचनाहरूलाई संयोजक (प्रचण्ड) र सहसंयोजक (माधव नेपाल) लाई पूर्णता दिने अख्तियारी दिइएको छ ।

यसैगरी, विगतमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका तर्फबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछन् । आर्थिक र सम्पत्तिको विषयमा पनि स्पष्ट निर्णय लिइएको छ । एकतामा सामेल सबै पार्टीहरूको चल, अचल र बैङ्क सम्पत्तिको स्वामित्व तथा दायित्व अबदेखि नयाँ नेपाली कम्युनिस्ट पार्टीको हुनेछ।


सम्बन्धित समाचार