२६ कात्र्तिक, काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको विषयलाई लिएर गहन विरोध भइरहेको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेस प्रदेशको राजनीति एकाएक अशान्त बनेको हो ।
मुख्यमन्त्री नियुक्तिलाई लिएर असन्तुष्ट रहेका सात दलका सांसदहरू आज पनि मधेस भवन अगाडिको बाटो छेकेर धर्नामा बसेका छन् । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद तथा कार्यकर्ताहरू यस आन्दोलनमा सहभागी छन् । उनीहरूले मुख्यमन्त्रीको नियुक्ति संविधानसम्मत नभएको दाबी गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
मङ्गलबार साँझ नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गर्न मधेस भवनभित्र प्रवेश गर्दा बाहिर विरोध प्रदर्शन चर्किएको थियो। प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज गर्दा १७ जना प्रदर्शनकारी घाइते भएका थिए ।
प्रहरीको लाठी चार्जको घटनापछि सात दलीय गठबन्धनले थप आन्दोलनको घोषणा गरेको छ । बुधवारको धर्ना सोही आन्दोलनको कार्यक्रमअन्तर्गत गरिएको हो, जसले मधेस प्रदेशको राजधानीमा तनावपूर्ण स्थिति सिर्जना गरेको छ । सांसदहरूले गरेको बाटो अवरोधसहितको धर्नाले प्रदेश सरकार गठनको प्रक्रिया र त्यसपछिको अवस्थालाई गम्भीर चुनौती दिएको छ ।

















