Logo

२६ कात्तिक,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जनकपुरमा जारी सातदलीय आन्दोलनमा दमन गर्ने प्रहरीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

गत मंगलबार जनकपुरस्थित मधेस भवन अगाडि भएको सातदलीय गठबन्धनको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा १० भन्दा बढी नेताकार्यकर्ता घाइते भएका थिए। उक्त आन्दोलन प्रदेश प्रमुखद्वारा होटलमा गरिएको मुख्यमन्त्री नियुक्तिको विरोधमा गरिएको हो।

बुधबार अध्यक्ष ठाकुरले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा संलग्न नेताकार्यकर्तामाथि गरिएको बल प्रयोगको तीव्र निन्दा गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा १६८ को (२) अन्तर्गत सरकार गठनको सम्भावना रहँदा १६८ को (३) अनुसार होटल पानस, सिन्धुलीमा चोरी–छिपी सपथ ग्रहण गरिनु असंवैधानिक हो। यस कार्यका जिम्मेवार असंवैधानिक मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिनुपर्छ र संविधान मिच्ने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई वर्खास्त गर्नुपर्छ।”

ठाकुरले आन्दोलनमा घाइते भएका नेताकार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, “बर्बरतापूर्ण दमन गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न नेपाल सरकारसँग लोसपा नेपाल जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख गरेका छन्।

लोसपाका अनुसार सातदलीय गठबन्धनले प्रदेश प्रमुखको “असंवैधानिक कदम” र प्रहरी दमनविरुद्धको आन्दोलन निरन्तरता दिने तयारी गरेको छ।


सम्बन्धित समाचार
भर्खरै