२६ कात्र्तिक, काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विभाजन आउनु र पार्टी धारासाही हुनुको मुख्य कारक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको भन्दै गम्भीर आरोप लगाएका छन् ।
बुधवार ‘मातृभूमि जागरण अभियान’ लाई प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा समाहित गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै रावलले ओलीको कार्यशैलीमाथि कडा टिप्पणी गरेका हुन् । रावलले ओलीमाथि प्रश्न गर्दै भने, ‘तपाईंहरू सोध्नुहोला( कम्युनिस्ट पार्टी त बनाएकै थियौँ। केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो। मलाई पनि लागेको थियो– अब देश समृद्धितिर जानेछ।’ तर, उनले दुई तिहाइको बहुमत प्राप्त प्रधानमन्त्रीले समेत प्रतिनिधिसभा विघटन गरेको घटनालाई औंल्याउँदै ओलीले पार्टीलाई ध्वस्त पारेको आरोप लगाए ।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले संविधानविपरीत भनेको स्मरण गर्दै रावलले फेरि दोस्रो पटक पनि संसद् विघटन गरेको घटनाबारे टिप्पणी गरे। उनले भने, ‘उहाँले फेरि विघटन गर्नुभयो। यस हिसाबले बस्तु र तथ्यलाई मान्यौँ भने केपी ओलीभन्दा गद्दारी अरु कोही हुन्छ? नेकपालाई केपी ओली भन्ने झापा निवासीले धारासाही पारिदिए।’ यस टिप्पणीले ओलीमाथि पार्टी र संविधानप्रतिको गद्दारीको आरोप लगाएको बुझिन्छ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका रावलले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एमालेमा रहेका नेता तथा कार्यकर्ताहरूलाई पनि एकताबद्ध बनाएर अगाडि बढ्ने आफ्नो योजना रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ लाई औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा विलय भएको घोषणा समेत गरेका छन् । यसै क्रममा रावलले भदौ २३ अघि त्रिभुवन विमानस्थलमा शक्तिशाली देशको जहाज ल्यान्ड भएको भनी अर्को रहस्यमय विषयसमेत उठाएका छन् ।




















