Logo

२८ कात्र्तिक, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्ड अब नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको मातहतमा आएको छ ।

पूर्व आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते मध्यरातबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरी नेतृत्वविहीन हुन पुगेको थियो । यसै सन्दर्भमा, मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकले कार्कीलाई नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । आज गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृह सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

चुनौतीपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हाल्न सक्ने इमानदार अधिकृतको परिचय बनाएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको लामो अनुभव छ । उनी कुनै ठूलो आर्थिक विवादमा नमुछिएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । पछिल्लो समय उनले उपत्यकाको कमाण्ड सम्हालेका थिए, जहाँ जेनजी आन्दोलनको समयमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उपत्यका कमाण्ड सम्हाल्नुअघि कार्की प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए । डीआईजी रहँदा लुम्बिनी प्रदेशको कमाण्ड तथा एसएसपीको जिम्मेवारीमा रहँदा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हालेका कार्कीको कार्यकालमा भुटानी शरणार्थी प्रकरणजस्ता महत्त्वपूर्ण मुद्दाहरूको अनुसन्धान अगाडि बढेको थियो । केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका कार्कीले विदेशमा विभिन्न तालिम पनि प्राप्त गरिसकेका छन् ।


सम्बन्धित समाचार
भर्खरै