२८ कात्तिक,काठमाडौं ।नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको मिति टुंग्याउने विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति (केकेस) बैठक स्थगित गर्दै दिउँसो १ बजे ललितपुरको धोविधाटमा समिति बैठक बोलाएका हुन्।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठकको प्रमुख एजेन्डा महाधिवेशनसम्बन्धी विवादको समाधानका उपाय खोज्ने रहनेछ।
कांग्रेसको महाधिवेशन मिति टुंग्याउन असोज २८ गतेदेखि केकेस बैठक बस्दै आएको छ। कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। तर सोही बैठकमा सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७–३० सम्म महाधिवेशन गर्नुपर्ने छुट्टै कार्यतालिका प्रस्तुत गरे।
थापाको प्रस्तावलाई इतर समूहका नेताहरूले र यादवको प्रस्तावलाई संस्थापन पक्षका नेताहरूले समर्थन गरेपछि विवाद झन् चर्किएको हो।
बिहीबारसम्म निरन्तर जारी बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखे पनि एकमत नभएपछि बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ।
बिहीबारको बैठकमा महामन्त्री थापाले मंसिर २७ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत राखेका छन्। विशेष महाधिवेशनको मागसहित २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन्।

















