२८ कात्तिक,वीरगञ्ज । सभामुखबाट पदमुक्त भएका मधेशका सांसदहरूले प्रदेश सभा सचिवालयमा निवेदन दिँदै विगत एक वर्षदेखि प्रदेशसभा बैठकमा आफ्नो उपस्थितिको प्रमाणित हाजिरी उपलब्ध गराइदिन आग्रह गरेका छन्।
निवेदन दिने सांसदमध्ये सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) छन्। उनीहरूले आफ्नो हाजिरीसम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन प्रदेश सचिवालयमा आग्रह गरेका हुन्।
सभामुख रामचन्द्र मण्डलले बिहीबार पाँच सांसदलाई लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै कारबाही गरी पदमुक्त गरेका थिए। पदमुक्त हुने सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, सञ्जयकुमार यादव, जसपाका मनिषकुमार सुमन (सप्तरी), सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार रहेका थिए।
यसको जानकारी बाहिरिएसँगै उपसभामुख बबिताकुमारी राउत ईशरले कारबाहीको प्रतिवाद गर्दै यसलाई बदर गरिएको सूचना पनि सार्वजनिक गरेकी थिइन्।

















