२९ कात्तिक,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा पहिलो पटक पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ। ठोरी गाउँपालिका वडा नं. २ मा रहेको ठोरी जंगल रिसोर्टको सभाहलमा शनिबार भएको पर्यटन व्यवसायी तथा सरोकारवालाको भेलाले ठोरीका युवा पर्यटन व्यवसायी सुदीप थापा को अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समितिको अन्य पदाधिकारीमा सुरज लामा उपाध्यक्ष, रवी पौडेल सचिव, पुष्कर भुजेल सह–सचिव र लेखमाया घिमीरे कोषाध्यक्ष चयन भएका छन्। सदस्यमा सन्जिव गान्धरी, सुशान्त सिंह ठकुरी, भरत अधिकारी, सागर पराजुली, मेनुका गुरुङ, अप्सरा साङंतान लगायत रहेका छन्।
भेलाले ठोरीमा पहिलो होमस्टे सञ्चालक शम्भु पौडेल को संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।
अध्यक्ष सुदीप थापा का अनुसार, नवगठित समितिले ठोरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। उनले भने, “हामीले ठोरीको पर्यटन क्षेत्रमा गर्नुपर्ने धेरै काम छ। हामीले निरन्तर गरिरहेका कामलाई संस्थागत गर्ने योजना बनाएका छौं।”
यसैबीच समितिको पहिलो बैठकले ठोरीका प्रमुख स्थानमा समितिको संख्या बराबर सुचना बोर्ड राख्ने र सोमबार सेतो डाँडा अगाडि बृहत सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी अध्यक्ष थापाले दिएका छन्।

















