३० कात्र्तिक, काठमाडौं । हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले नेपालमा वैकल्पिक नागरिक शक्तिको आवश्यकता औंल्याउँदै देशको जनमत जितेका चर्चित व्यक्तित्वहरूलाई एकै ठाउँमा एकजुट हुन सार्वजनिक आह्वान गरेका छन् ।
उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिँदै काठमाडौँका मेयर बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङ, धरानका मेयर हर्क साम्पाङ, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ र युवा अभियन्ता सागर ढकाल लगायतका व्यक्तित्वहरूलाई सँगै उभिन आग्रह गरेका छन् ।
गुरुङका अनुसार, अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको दाबी गरिएको छ। अब सबै पुस्तालाई जोड्नका लागि छिट्टै नै एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
यस अभियानको दोस्रो चरणअन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको गुरुङले बताएका छन् । उनले गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै सोही गोरखा मन्दिरबाट आशीर्वाद लिएर यो अभियान सुरु गरिने जानकारी दिएका छन् ।

















