६ मंसिर,काठमाडौं । नाइजेरियामा बन्दुकधारी समूहले एक विद्यालयमा हमला गरी दुई सयभन्दा बढी विद्यार्थी तथा कर्मचारी अपहरण गरेको छ। नाइजर स्टेटको पापिरीस्थित सेन्ट मेरी स्कुलमा अध्ययनरत २१५ विद्यार्थी र १२ कर्मचारी अपहरणमा परेका नाइजेरियाली प्रहरीले बताएका छन्। बीबीसीले प्रहरी स्रोतलाई उद्धृत गर्दै घटना पुष्टि गरेको छ।
पछिल्ला दिनहरूमा नाइजेरियामा बन्दुकधारी समूहद्वारा धम्की, आक्रमण तथा अपहरणका घटना तीव्र रूपमा बढिरहेका छन्। यसअघि पनि यही हप्तामा नाइजर स्टेटकै एक निजी विद्यालयबाट २० भन्दा बढी विद्यार्थी अपहरणमा परेका थिए।
विद्यालयहरूमा भईरहेको शृंखलाबद्ध आक्रमणका कारण नाइजेरियाका धेरै निजी विद्यालयहरू सुरक्षा जोखिमका बीच बन्द गरिएका छन्। स्थानीय प्रशासनले सुरक्षा बल परिचालन बढाए पनि अपहरणका घटनाले नियन्त्रणको चुनौती थपिएको बताइन्छ।

















