Logo

१५ मंसिर, वीरगञ्ज । भारतमा एक २० वर्षीया युवतीले आफ्नै आँखै अगाडि ‘मानिसहरूले मारेको’ प्रेमलाई बचाउन मृत प्रेमीको शवसँगै विवाह गर्ने अद्भुत निर्णय लिएपछि पुरै क्षेत्र स्तब्ध बनेको छ।

घटना भारतको महाराष्ट्रस्थित नान्देडको इतवारा क्षेत्रको हो। आँचल नामकी युवती तीन वर्षदेखि फरक जातका २२ वर्षीय सक्षम टेटेसँग प्रेममा थिइन्। उनीहरू दुवैले विवाहको सपना देखेका थिए। तर सक्षम फरक जातका भएकै कारण आँचलको परिवारले यो सम्बन्ध न त स्वीकार गर्‍यो, न त युवतीमाथि परेको दबाब रोकियो । तर यो कथा यतिमै रोकिनेवाला थिएन।

परिवारले जब आँचल विवाह गर्ने तयारीमा रहेको थाहा पाए, सक्षम आञ्चलका दाजुको साथी थिए । दाजुभाइ र बुबाले सक्षमलाई भेट्ने बहानामा बोलाए । भेटघाटको नाममा गरिएको त्यो बोलावट अन्तिम साबित भयो । पहिले कुटपिट, त्यसपछि गोली, अनि ढुंगाले किचेर हत्या ।

सक्षमको अन्तिम संस्कार चलिरहेको थियो, त्यही बीच आँचल छरछिमेकको भीड छिचोल्दै पुगिन्। उनले प्रेमीको शरीरमा हल्दी लगाइन्, मृत हात समाएर आफ्नै निधारमा सिन्दूर हालिन् र ठोकुवा गर्दै भनिन्-“उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो ।

त्यही क्षण उनले घोषणा गरिन् “आजदेखि म उनको श्रीमती हुँ। यस शरीरले सास नचलोस्, तर उनी भित्र बाँचिरहेको प्रेम जसरी छ, त्यसैलाई जोगाउन मैले यो विवाह गरेकी हुँ।”

आँचल अब सक्षमको घरमै बस्ने निर्णयमा अडिग छिन्। उता, हत्यामा संलग्न भएको आरोपमा उनका बुबा–दाजुभाइसहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामा गजानन बालाजिराव मामिलवाड, साहिल मामिलवाड, हिमेश मामिलवाड, जयश्री मदनसिंह ठाकुर, सोमेश लाखे र वेदान्त कुन्डेकर छन्।

एक समाजले अस्वीकार गरेको प्रेम, हत्या र हिंसाको बीच शवसँग विवाह गर्ने असाधारण कलंकपूर्ण घटना बनेर बाहिर आएको छ। तर आँचल भन्छिन्, “सक्षम मरे, प्रेम मरेन ।”


सम्बन्धित समाचार