२८ मंसिर, बारा । पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले बारामा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा चुनाव नहुने भन्ने भ्रम फैलाउने केही जिम्मेवार पार्टी नेताहरूको आलोचना गरेका छन्।
बाराको कलैया स्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा नेपाल प्रेस युनियनले आयोजित पत्रकार सम्मेलनमा नेता निधिले निर्वाचनको विकल्प अरु केही हुन नसक्ने स्पष्ट पारे। उनले संविधानलाई बचाउन र सुदृढ पार्न फागुन २१ गतेको निर्वाचनले मात्र ताजा जनादेश प्राप्त गर्न सक्ने बताए।
नेता निधिले वर्तमान परिस्थितिमा नेपाली काँग्रेसले सर्वसम्मत नेतृत्व चयन गर्नु आवश्यक रहेको र आउँदो निर्वाचनमा पार्टीले कुनै दलसँग गठबन्धन नगर्ने नीति स्पष्ट पारे। उनले निर्वाचनको पक्षमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्दै गाउँ–गाउँसम्म भ्रम हटाउन निर्देशन दिए।
साथै, उनले निर्वाचनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न सरकारसँग पनि आग्रह गरे। उनले नेपाली काँग्रेस नियमित अधिवेशनको तयारीमा रहेको र विशेष महाधिवेशनको औचित्य समाप्त भएको स्पष्ट पारे।
आउँदो महाधिवेशनमा आफू पनि नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दिन इच्छुक रहेको बताउँदै निधीले नेताहरूसँग छलफल गरिरहेको जानकारी दिए।
जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा सहमहामन्त्री उमाकान्त चौधरी र फर्मुल्लाह मंसुर, पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश यादव लगायतले नेपाली काँग्रेसको क्रियाशील सदस्यता र पार्टी रणनीतिबारे आफ्ना धारणा राखेका थिए।
















