२८ मंसिर, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी विधानको व्यवस्था उल्ट्याउने निर्णयलाई मनपरीतन्त्रको संज्ञा दिँदै त्यसविरुद्धको लडाइँ जारी रहेको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि केन्द्रीय कमिटीबाट पदाधिकारीको संख्या बढाउने निर्णय गरेपछि उपाध्यक्ष पाण्डेले उक्त निर्णयप्रति कडा आपत्ति जनाएका हुन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले प्रश्न गरेका छन्, ‘के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने—यो सरासर मनपरी होइन भने के हो?’
उनले अध्यक्ष ओलीको निर्णयले पार्टी विधानको औचित्यमाथि नै प्रश्न उठेको बताएका छन्। ‘अहिले आएर दायाँ–बायाँ गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ,’ पाण्डेले लेखेका छन्।
पाण्डेले पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नुपर्नेमा जोड दिँदै मनपरीतन्त्रको विरुद्ध संघर्ष जारी रहने स्पष्ट पारेका छन्।















