Logo

२ पौष, वीरगञ्ज । सीमावर्ती भारतीय सहर रक्सौलबाट वीरगञ्ज–रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्न लागेको रोहिङ्ग्या शरणार्थीहरूको एक समूहलाई बुधबार भारत फिर्ता पठाइएको छ।

बुधबार बिहान १२–१५ वटा टाँगामा आएका करिब एक सय जना रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि स्थानीयवासीले बाइपास रोडको नगवा क्षेत्र अगाडि उनीहरूलाई रोकेर सोधपुछ गरेका थिए। सोधपुछका क्रममा उनीहरूले भारतको उत्तर प्रदेश (यूपी) घर बताउँदै नेपाल कामका लागि जान लागेको दाबी गरे पनि गतिविधि र भनाइमा असङ्गति देखिएपछि शङ्का उत्पन्न भएको थियो।

स्थानीय युवाहरूले ती शरणार्थीहरूलाई वीरगञ्ज भन्सारसम्म फिर्ता लगेर प्रहरीको जिम्मा लगाएका हुन्। स्थानीय रञ्जित सर्राफका अनुसार, “यूपी घर बताउने तर राम्रो हिन्दी नबोल्न सक्ने, स्पष्ट कागजात नहुने र नेपाल प्रवेशको उद्देश्य प्रस्ट खुलाउन नसकेपछि शङ्का लागेर प्रहरीलाई बुझाइएको हो।”

यस घटनामा सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालको लापरबाही भएको आरोप स्थानीयहरूले लगाएका छन्। स्थानीयका अनुसार, सर्वसाधारणले सानो सामग्री ल्याउँदा समेत कडाइका साथ चेकजाँच गर्ने सशस्त्र प्रहरीले रोहिङ्ग्या शरणार्थीहरूको ठूलो समूह नेपाल प्रवेश गर्दा भने पर्याप्त जाँच नगरेको देखिएको छ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले भने प्रारम्भिक जाँचमा उनीहरूले यूपीमा बसोबास गरेको दाबी गरे पनि व्यवहार र विवरणमा असङ्गति देखिएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भारततर्फ फिर्ता पठाइएको जनाएको छ।

सुरक्षा निकायले सीमा क्षेत्रबाट अवैध प्रवेश, शरणार्थीका रूपमा बसोबास गर्न खोज्ने वा सुरक्षा चुनौती सिर्जना गर्न सक्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी कडा बनाइएको जनाएको छ। पछिल्लो समय सीमा क्षेत्रमा यस्ता समूहहरूको आवतजावत बढ्दै गएको भन्दै सुरक्षाकर्मीहरू सतर्क अवस्थामा रहेको बताइएको छ।

यस विषयमा आधिकारिक धारणा लिन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सन्तोष राय तथा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसँग सम्पर्क गर्न खोज्दा फोन नउठेकाले प्रतिक्रिया प्राप्त हुन सकेन।


सम्बन्धित समाचार
भर्खरै