Logo

२ पौष,  वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित पुरानो बसपार्कको पछाडि रहेको त्रिशला रेस्टुरेन्टमा कार्यरत २० वर्षीया युवती मृत फेला परेपछि परिवार र स्थानीयवासीले निष्पक्ष छानबिनको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेका छन्।

मङ्सिर २७ गते शनिबार त्रिशला रेस्टुरेन्टसँगै जोडिएको मारवाडी सेवा सङ्घको धर्मशालाको कोठा नम्बर १०५ मा मृत अवस्थामा फेला परेकी युवती पर्सागढी नगरपालिका–३ झाब्रा टोलकी सुनिता स्यान्बो रहेको खुलेको छ। घटनाको प्रकृति शङ्कास्पद भएको भन्दै परिवारजनले न्यायको माग गर्दै बुधबार विरोध प्रदर्शन गरेका हुन्।

सुनिताको हत्या भएको दाबी गर्दै परिवारका सदस्यहरूले घटनामा संलग्न दोषीलाई पहिचान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने तथा उनी कार्यरत रेस्टुरेन्टले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठनको नेतृत्वमा सुनिताको परिवार र स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै निष्पक्ष छानबिनको माग गरे। त्यसपछि प्रदर्शनकारीहरूले र्‍याली निकाल्दै जिल्ला प्रहरी कार्यालय पर्सासम्म पुगेका छन्।

पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनालाई आत्महत्या जस्तो देखिएको बताएको छ। तर, विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण पुष्टि हुने पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले जानकारी दिए। घटनामा संलग्नताको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिए पनि उनीहरूको विवरण सार्वजनिक गरिएको छैन।

घटनास्थलमा पुगेका स्थानीय तथा वडा सदस्यहरूले शव उठाउने क्रममा नियम विपरीत काम गरिएको आरोप लगाएका छन्। जनप्रतिनिधि नपुग्दै शव खाटमा राखिएको भन्दै उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

त्रिशला रेस्टुरेन्ट स्थानीय युवा अनमोल कुमारद्वारा सञ्चालित रहेको बताइएको छ। प्रहरीले उनलाई अनुसन्धानको दायरामा राखे पनि हालसम्म पक्राउ गरिएको छैन।


सम्बन्धित समाचार
भर्खरै