Logo

२ पौष, वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ आजदेखि आदर्शनगर रङ्गशालामा सुरु भएको छ।

टुर्नामेन्टको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरे। उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। पढाइसँगै खेलकुदलाई समान महत्व दिन सके अनुशासित, आत्मविश्वासी र सक्षम नागरिक तयार हुने उनको भनाइ थियो। उनले बालिका तथा जुनियर तह लक्षित यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै महानगरपालिकाको तर्फबाट खेलकुद प्रवर्द्धनमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द कुशवाहले प्रस्तुत गरेका थिए। प्रतियोगितामा वीरगञ्जका ३६ वटा प्याब्सन सदस्य विद्यालयका टिम सहभागी छन्, जसमा ३३६ जना छात्रा र ४३४ जना जुनियर छात्र गरी कुल ७७० जना खेलाडीको सहभागिता रहेको छ।

प्याब्सन वीरगञ्जका सचिव आलोकले प्रतियोगिताको मुख्य उद्देश्य महिला क्रिकेट प्रवर्द्धन गर्नुका साथै बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराई उनीहरूको सर्वाङ्गीण विकास गर्नु रहेको बताए।

प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, प्याब्सन वीरगञ्जका वरिष्ठ उपाध्यक्ष सुशिला साह तथा सल्लाहकारहरू अशोक सङौला, आलोक चौरसिया र विजय बलको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।


सम्बन्धित समाचार
भर्खरै