३ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २९ बस्डिलवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई न्यानो स्वेटर वितरण गरिएको छ। बढ्दो जाडोलाई ध्यानमा राख्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य र सहज पठनपाठनका लागि उक्त स्वेटर वितरण गरिएको हो।
पूर्व मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदुमन प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री यादवले विद्यार्थीहरूको शैक्षिक उन्नति र उज्ज्वल भविष्यका लागि यस्ता सामाजिक पहलहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको विकास केवल सरकारको प्रयासले मात्र सम्भव छैन, यसमा समुदायको सक्रिय सहभागिता र सामाजिक व्यक्तित्वहरूको सहयोग उत्तिकै अपरिहार्य छ।” सो अवसरमा उहाँले कार्यक्रमको संयोजन र व्यवस्थापनमा प्रदुमन प्रसाद यादवले खेल्नुभएको सराहनीय भूमिकाको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभयो।
विशेष अतिथिको रूपमा बोल्दै मेयर राजेशमान सिंहले महानगरपालिकाले शिक्षाको गुणस्तर सुधार र विद्यार्थीहरूको आधारभूत आवश्यकता पूरा गर्न सधैं तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। जाडोयाममा स्वेटर पाएपछि विद्यार्थीहरू हर्षित देखिएका थिए भने अभिभावकहरूले यस कार्यले विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालय आउन थप प्रोत्साहन मिल्ने धारणा राखेका थिए।
सहभागीहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको रुचि जगाउनुका साथै समाजमा सहयोग र सद्भावको भावनालाई अझ मजबुत बनाएको छ।
















