Logo

३ पुस, वीरगञ्ज  । वीरगञ्जको ऐतिहासिक नारायणी रंगशालामा नेशनल इन्फोटेक कलेजको आयोजनामा ‘एनआई कप २०८२’ (NI Cup 2082) अन्तर–कलेज टी–२० क्रिकेट टुर्नामेन्ट भव्य रूपमा सुरु भएको छ। कलेजस्तरीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहले गर्नुभयो।

उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंह उपस्थित हुनुहुन्थ्यो। पर्सा क्रिकेट एसोसिएसनका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेशनल इन्फोटेक कलेजका निर्देशक एवं कार्यक्रम संयोजक युवा नेता सुधिर पटेलले यस प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई व्यावसायिक प्रतिस्पर्धा र अनुभवका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

पहिलो खेल: नेशनल इन्फोटेकको सानदार जित

टुर्नामेन्टको उद्घाटन खेल आयोजक नेशनल इन्फोटेक कलेज र बालएक्टा कलेज बीच भएको थियो।

  • बालएक्टा कलेज: टस हारेर पहिले ब्याटिङ गरेको बालएक्टा कलेज १७.१ ओभरमा मात्र ३६ रनमा अलआउट भयो। टोलीका लागि अविशेक कुमार र अविशेक के. तिवारीले समान ११–११ रन जोडे। नेशनल इन्फोटेकका प्रथम गुप्ताले ३.१ ओभरमा मात्र ३ विकेट लिएर उत्कृष्ट बलिङ गरे भने निरज पटेलले २ विकेट लिए।

  • नेशनल इन्फोटेक: ३७ रनको सामान्य लक्ष्य पछ्याएको नेशनल इन्फोटेकले ५.१ ओभरमा २ विकेट गुमाउँदै ४० रन बनाएर ८ विकेटको सहज जित हात पार्यो। डाबली मलिकले १७ र सुसान्त सिंहले १२ रन बनाए।

यस खेलमा घातक बलिङ गरेका प्रथम गुप्ता ‘प्लेयर अफ द म्याच’ घोषित भए, जसलाई क्यानका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कृत गर्नुभयो।

दोस्रो खेल: बीपीसी कलेज ३८ रनले विजयी

आजै भएको दोस्रो प्रतिष्पर्धामा बीपीसी (BPC) कलेज र ओम नेशनल कलेज भिडेका थिए।

  • बीपीसी कलेज: पहिले ब्याटिङ गर्दै बीपीसीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको सम्मानजनक स्कोर खडा गर्यो। आयुष गुप्ताले २३ र अजाज अलीले २१ रनको योगदान दिए। ओम नेशनलका कुनाल मिश्रा र आदिल हवारीले समान ३–३ विकेट लिए।

  • ओम नेशनल कलेज: १२३ रनको लक्ष्य पछ्याएको ओम नेशनल ९ विकेट गुमाउँदै ८४ रनमा समेटियो। टोलीका लागि राहुल टी.के. हजामले सर्वाधिक ३१ रन बनाए। बीपीसीका अजाज अलीले २ विकेट लिए।

यस खेलमा अलराउन्ड प्रदर्शन गरेका अजाज अली ‘प्लेयर अफ द म्याच’ बने। उनलाई पूर्व केन्द्रीय सदस्य कृष्ण कन्हैयाले पुरस्कार प्रदान गर्नुभयो।

आयोजकका अनुसार वीरगञ्ज र आसपासका क्षेत्रमा क्रिकेटको क्रेज बढाउन र नयाँ प्रतिभा पहिचान गर्न यस्ता प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।


सम्बन्धित समाचार
भर्खरै