३ पुस, वीरगन्ज । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२ स्थित बाइपास रोडबाट अवैध रूपमा लोड-अनलोड भइरहेको ठूलो परिमाणको सुपारी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठक स्वयंको नेतृत्वमा खटिएको टोलीले उक्त परिमाणको सुपारीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा आज गरिएको छापामारीका क्रममा प्रहरीले चार करोड सतहत्तर लाख ४० हजार रुपैयाँ बराबरको १८ सय बोरा सुपारी नियन्त्रणमा लिएको एसपी पाठकले जानकारी दिनुभयो।
प्रहरीका अनुसार वीरगन्ज-२ स्थित निशान्त सोनावर्तको दाल प्याकिङ गोदाममा सुपारी अनलोड भइरहेको अवस्थामा प्रहरी टोली पुगेको थियो। सो क्रममा ना ७ ख ७४२० नम्बरको ट्रेलर ट्रकलाई सुपारी अनलोड गरिरहेकै अवस्थामा फेला पारिएको थियो।
त्यसैगरी, सोही स्थानमा शंकास्पद अवस्थामा पार्किङ गरी राखिएको ना ४ ख ६८३२ नम्बरको १४ चक्के ट्रेलर ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै ट्रकमा गरी कुल १८ सय बोरा सुपारी रहेको पाइएको छ।
प्रहरीले घटनास्थलबाट दुई जना ट्रक चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा:
-
राम भरोस महरा: जितपुर सिमरा उपमहानगरपालिका–२० निवासी।
-
रामप्रसाद यादव: जितपुर सिमरा उपमहानगरपालिका–१९ निवासी।
बरामद गरिएको सुपारी, सवारीसाधन र पक्राउ परेका दुवै चालकलाई थप कानुनी कारबाही र विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्लाको सुरक्षा कमाण्ड सम्हालेलगत्तै एसपी पाठक स्वयं फिल्डमा उत्रिएर गरेको यस कारबाहीलाई पर्सा प्रहरीले अवैध कारोबार र तस्करी नियन्त्रणको दिशामा एक महत्त्वपूर्ण सफलताको रूपमा लिएको छ।















