२९ पुष, काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल–३’ का विजेता तथा नेपाली मूलका चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले सोमबार प्रशान्तकी श्रीमती गीता थापा मगर (मार्था) लाई एक औपचारिक शोकपत्र पठाउँदै तामाङको निधनलाई मनोरञ्जन जगतका लागि एक अपूरणीय क्षतिको रूपमा चित्रण गर्नुभएको हो । ४२ वर्षको अल्पायुमै भएको यो दुखद घटनाले नेपाल र भारत दुवै देशका नेपालीभाषी समुदायलाई स्तब्ध बनाएको छ ।
प्रधानमन्त्री मोदीले पठाउनुभएको शोकपत्रमा प्रशान्तलाई दृढ संकल्प र विशिष्ट प्रतिभाको प्रतीकका रूपमा स्मरण गरिएको छ। मोदीले पत्रमा लेख्नुभएको छ, ूप्रशान्त तामाङजीले आफ्नो आत्मीय गायन र उत्कृष्ट अभिनयका माध्यमबाट मनोरञ्जनको संसारमा एउटा बेग्लै पहिचान बनाउनुभएको थियो। उहाँको जीवन यात्रा असंख्य युवाहरूका लागि सपना देख्न र त्यसका लागि कठोर परिश्रम गर्न प्रेरित गर्ने एउटा बलियो माध्यम बनेको छ।ू प्रधानमन्त्रीले शोकाकुल परिवार र उनका करोडौँ प्रशंसकहरूलाई यो पीडा सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना समेत गर्नुभएको छ।
गत आइतबार नयाँ दिल्लीमा हृदयघात (कार्डियाक अरेस्ट) का कारण निधन भएका प्रशान्तको पार्थिव शरीरलाई सोमबार नै उनको जन्मथलो दार्जिलिङ पुर्याइएको थियो । हिजोदेखि नै दार्जिलिङका विभिन्न स्थानहरूमा उनको शवयात्रा भइरहेको छ, जहाँ हजारौँको संख्यामा प्रशंसकहरू उपस्थित भई आँसुभारा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । शव राखिएको गाडीमा पुष्पगुच्छा चढाउन र अन्तिम पटक उनको झलक पाउन सर्वसाधारणको ठूलो घुइँचो लागेको छ ।
नेपाली चलचित्र गोर्खा पल्टन लगायतका चर्चित चलचित्रमा अभिनय गरेका र सुमधुर गीतहरूका धनी तामाङको अन्त्येष्टि मंगलबार दार्जिलिङमा गरिने कार्यक्रम रहेको छ । साङ्गीतिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान र इन्डियन आइडलको मञ्चबाट सारा नेपालीहरूलाई एउटै सूत्रमा बाँध्न खेल्नुभएको भूमिकाको स्मरण गर्दै अहिले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा उहाँप्रति सम्मान प्रकट भइरहेको छ ।















