२९ पुष, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै मंगलबार उक्त रिट दायर गर्नुभएको हो । रिटमा निर्वाचन आयोगले अघि सारेका सबै निर्वाचन कार्यक्रमहरू तत्काल स्थगित गर्न र विशेष गरी माघ ६ गतेका लागि तोकिएको प्रत्यक्षतर्फको मनोनयन दर्ता प्रक्रिया रोक्न माग गरिएको छ ।
अधिवक्ता पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै यसअघि नै सर्वोच्चमा परेका रिटहरू किनारा नलाग्दै निर्वाचनको प्रक्रिया अघि बढाउनु न्यायसंगत नभएको तर्क गर्नुभएको छ । उहाँका अनुसार अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकाले यसलाई रोक्नुपर्ने आवश्यकता देखिएको हो । सर्वोच्च अदालतले यस रिटको प्रारम्भिक सुनुवाइका लागि आगामी माघ ६ गतेकै दिन पेसी तोकेको छ, जुन दिन निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची राखेको छ ।
निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ । त्यसपछिका दिनहरूमा उम्मेदवारविरुद्ध उजुरी दिने, जाँचबुझ गर्ने, नामावली प्रकाशन गर्ने र माघ ९ गते निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । तर, अब यो सबै प्रक्रिया अदालतको आगामी आदेशमा निर्भर रहने देखिएको छ । निर्वाचन हुने वा नहुने भन्ने कानुनी अन्योलका बीच सर्वोच्चको यो पेसीलाई निकै महत्वका साथ हेरिएको छ ।

















