२९ पुष, काठमाडौं । सरकारले झन्डै दुई दशकअघिको योजनालाई मूर्त रूप दिँदै नेपालमा पेट्रोलियम पदार्थमा इथानोल मिसाउन औपचारिक अनुमति दिएको छ ।
गत पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न स्वीकृति दिएसँगै अब नेपालमा जैविक इन्धनको व्यावसायिक प्रयोग सुरु हुने भएको हो । छिमेकी मुलुक भारतमा २० प्रतिशतसम्म इथानोल मिसाउने सफल अभ्यास भइसके पनि नेपालले भने हालसम्म शतप्रतिशत शुद्ध पेट्रोल नै आयात र बिक्री गर्दै आएको थियो । यो नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले अहिलेको तुलनामा केही सस्तो दरमा इन्धन पाउन सक्ने सम्भावना बलियो बनेको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार इथानोल मिश्रणले विदेशी मुद्राको सञ्चिति जोगाउनुका साथै स्थानीय कृषकहरूको आयआर्जनमा समेत ठूलो टेवा पुर्याउनेछ । सरकारले इथानोलको मूल्य निर्धारणका लागि उच्चस्तरीय समिति गठन गरिसकेको छ । यदि सरकारले भन्सार र अन्य करहरूमा सहुलियत प्रदान गरेमा इथानोल प्रतिलिटर ११० रुपैयाँसम्ममा उपलब्ध गराउन सकिने अनुमान छ, जसले गर्दा पेट्रोलको समग्र बजार मूल्यमा गिरावट आउने देखिन्छ । इथानोल विशेषगरी उखुको खुदो, मकैको ढोड, पराल र अन्य कृषिजन्य अवशेषबाट उत्पादन गरिने ‘इथाइल अल्कोहल’ भएकाले यसलाई वातावरणमैत्री जैविक इन्धनका रूपमा लिइन्छ ।
प्राविधिक सुरक्षाका दृष्टिले १० प्रतिशतको मिश्रणले सवारी साधनको इन्जिनमा कुनै पनि नकारात्मक असर नपर्ने निगमले स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नेपालमा दैनिक औसत २० देखि २२ लाख लिटर पेट्रोल खपत हुने गरेको छ, जसका लागि १० प्रतिशत मिश्रण गर्दा दैनिक करिब २ लाख २० हजार लिटर इथानोल आवश्यक पर्छ ।
यद्यपि, हाल नेपालका चिनी उद्योगहरूको उत्पादन क्षमता दैनिक ५० हजार लिटर मात्र रहेकाले माग र आपूर्तिको खाडल पुर्न नयाँ उद्योगीहरूलाई आकर्षित गर्ने योजना निगमले बनाएको छ । यो कदमले फोहोर व्यवस्थापन र ऊर्जा सुरक्षाका क्षेत्रमा नेपाललाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।















