२९ पुष, वीरगञ्ज। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा मतदाता संख्या उल्लेखनीय रूपमा बढेको छ ।पर्सा निर्वाचन आयोगका अनुसार हालसम्म जिल्लामा कुल ३ लाख ७६ हजार ५१३ जना मतदाता पुगेका छन् ।
जिल्लामा पुरुष मतदाता २ लाख १२ हजार ७७ जना, महिला मतदाता १ लाख ६४ हजार ४२१ जना तथा अन्य समूहका १५ जना मतदाता रहेका छन् । यो संख्या अघिल्लो निर्वाचनको तुलनामा बढेको देखिन्छ, जसले जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सक्रियता बढेको संकेत गर्छ ।
यसपटकको निर्वाचनमा मतदान स्थलहरू अघिल्लो निर्वाचनकै जस्तै कायम रहने भए पनि मतदान केन्द्रको संख्या भने थपिएको छ । २०७९ सलको को निर्वाचनमा जिल्लामा ४१२ वटा मतदान केन्द्र रहेका थिए । यसपटक २९ वटा केन्द्र थप गरी कुल ४४१ मतदान केन्द्र निर्धारण गरिएको छ । यसले मतदान प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
मतदाता परिचयपत्र हराएको अवस्थामा निर्वाचन अगाडि निर्वाचन आयोग कार्यालयले परिपत्र जारी गर्नेछ । सो परिपत्रअनुसार नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वा राष्ट्रिय परिचयपत्र जस्ता आधिकारिक कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ ।
पर्सा निर्वाचन आयोग कार्यालयका सूचना अधिकारी अरुण कुमार ठाकुरका अनुसार हालसम्म करिब १० हजार जना मतदाताले राष्ट्रिय परिचयपत्र तथा अन्य कागजातका आधारमा तथा करिब १५ हजार जनाले नागरिकता प्रमाणपत्र मार्फत बायोमेट्रिक प्रक्रियाका लागि कार्यालयमा उपस्थित भइसकेका छन् । यो प्रक्रियाले मतदाता सूचीको शुद्धता र विश्वसनीयता बढाउने विश्वास गरिएको छ ।















