Logo

२९ पौष, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस वर्ष विभिन्न विधाका प्रतिष्ठित पत्रकारिता पुरस्कार चारजना क्रियाशील पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार वीरगञ्जमा शाखा अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पुरस्कार पाउने पत्रकारहरूको नाम टुङ्गो लगाएको हो ।

महासंघले प्रदान गर्दै आएको ‘स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरस्कार २०८२’ वरिष्ठ पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ । अढाई दशकभन्दा बढी समयदेखि पर्सालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय देवकोटा वीरगञ्ज महानगरपालिकाका पूर्व प्रेस सल्लाहकारसमेत हुन् । ५१ हजार रुपैयाँ राशिको यो पुरस्कार आगामी माघ १ गते विशेष समारोहकाबीच प्रदान गरिने महासंघले जनाएको छ ।

यसैगरी ‘स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०८२’ वीरगञ्जका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिनेछ। २५ हजार रुपैयाँ राशिको यो पुरस्कार माघ महिनाभित्रै हस्तान्तरण गरिने महासंघ पर्साका अध्यक्ष खनालले जानकारी दिए ।

त्यस्तै, ‘स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार’ यस वर्ष दुईजना महिला पत्रकारलाई प्रदान गरिने भएको छ। महासंघका अनुसार पत्रकार माधुरी महतो २०८१ सालका लागि र पत्रकार बिमला गुप्ता २०८२ सालका लागि उक्त पुरस्कारबाट सम्मानित हुनेछन् । यी दुवै पुरस्कार पनि माघ महिनाभित्रै वितरण गरिनेछ ।

महासंघ पर्साका अध्यक्ष खनालले पर्साको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यी पुरस्कार प्रदान गर्न लागिएको बताए। स्थानीय पत्रकारितामा आचारसंहिता, व्यावसायिक मर्यादा र निष्पक्षताको संरक्षणमा पुर्‍याएको योगदानका आधारमा पुरस्कृत पत्रकारहरूको छनोट गरिएको महासंघले स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै