७ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्धारित समयतालिकाभित्रै उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार व्यक्त गरेकी छिन्। निर्वाचन प्रक्रियाको एक महत्त्वपूर्ण ‘कोशेढुङ्गा’ पार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले बुधबार एक विशेष सन्देश जारी गरेकी हुन् ।
प्रतिनिधिसभाका १६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गर्नुलाई प्रधानमन्त्रीले लोकतान्त्रिक प्रणालीप्रतिको प्रगाढ विश्वासका रूपमा चित्रण गरेकी छिन्। “नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने तथ्य आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ,” सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण सामर्थ्यका साथ लागेको स्पष्ट पार्दै सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता नगरिने प्रतिबद्धता जनाएकी छिन्। उनले भनिन्, “हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्।”
निर्वाचनको यस महाकुम्भले मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था अन्त्य गरेको बताउँदै प्रधानमन्त्रीले यसले राजनीतिक वृत्तका साथै निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गरिन् । उनले निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिने निर्वाचन आयोगलाई धन्यवाद दिँदै आगामी दिनमा राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमबाट रचनात्मक भूमिकाको अपेक्षा गरेकी छिन् ।
सन्देशको अन्त्यमा प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई निर्वाचनमा सक्रिय र संयमित भएर सहभागी हुन हार्दिक अपिलसमेत गरेकी छिन् ।

















