७ माघ, काठमाडौं । भदौ २३ र २४ गतेको चर्चित जेनजी आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ ।
सुरुमा तीन महिनाको कार्यदेश पाएको आयोगले काम नसकेपछि यसअघि नै एक महिना म्याद थपिएको थियो, जसको समय सीमा यही माघ ८ गते बिहीबार सकिँदै छ । प्रतिवेदन लेखनको कार्य अझै पूर्ण नभएको भन्दै आयोगले १५ देखि २० दिनको अतिरिक्त समय माग गरेपछि सरकारले म्याद थप्ने गृहकार्य अगाडि बढाएको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदन लेखनको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ, तर अन्तिम रूप दिन केही समय अझै आवश्यक पर्ने देखिएको छ । आयोगका अध्यक्ष कार्कीले हालै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको प्रगति र बाँकी कामका बारेमा ब्रिफिङ गर्नुभएको थियो । यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए पनि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थपबारे औपचारिक निर्णय लिन सक्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले संकेत गरेको छ ।
गत असोज ८ गतेदेखि सक्रिय भएको यस आयोगले आफ्नो छानबिनका क्रममा पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिव र काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सुरक्षा कमान्डर र आन्दोलनकारी पक्षसँग समेत विस्तृत बयान लिइसकेको छ ।
भदौ २३ गते राज्य पक्षबाट र २४ गते प्रदर्शनकारीका तर्फबाट भएको भनिएको विध्वंस र ठुलो धनजनको क्षतिको यथार्थ बाहिर ल्याउन यो प्रतिवेदनलाई निकै महत्त्वपूर्ण मानिएको छ । हाल प्रधानमन्त्रीबाट बयानको जवाफ आउन बाँकी रहेको अवस्थामा आयोगले अन्तिम प्रतिवेदनलाई तार्किक निष्कर्षमा पुर्याउन थप समयको माग गरेको हो ।
















