Logo

 ७ माघ,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १६५ सिटमा मङ्गलबार मनोनयन दर्ता सम्पन्न भएको छ। देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन्।

विभिन्न राजनीतिक दलका आधिकारिक उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्म, लामो राजनीतिक अनुभव बोकेकादेखि पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएकासम्मको सहभागिता देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार पूर्वप्रधानमन्त्री, छ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका छन्।

पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई, पाँच पटक अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, दुई–दुई पटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, बजेट ल्याउन नपाएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अघिल्लो कार्यकालमा समानुपातिक सांसद रहँदै अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। पूर्वअर्थराज्यमन्त्री उदयशमशेर जबरा पनि प्रत्यक्षतर्फ उम्मेदवार छन्।

शीर्ष राजनीतिक दलसँग आबद्धता, प्रभावशाली छवि र विषयगत ज्ञान हुँदाहुँदै पनि यी पूर्वअर्थमन्त्रीहरू कसैले पनि लगातार दुई आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्न पाएनन्। पटक–पटक सरकार फेरिनु र राजनीतिक गठबन्धन अस्थिर रहँदा बजेट बनाउने र कार्यान्वयन गर्ने नेतृत्व फरक–फरक हुने अवस्था दोहोरिरह्यो।

विसं २०६५ यताका बजेट इतिहास हेर्दा राष्ट्रियसभा सदस्यका रूपमा संसद् प्रवेश गरेका डा. युवराज खतिवडाले तीन वटा, संविधानसभा सदस्य डा. रामशरण महतले दुई वटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले दुई वटा बजेट लगातार प्रस्तुत गरेका थिए। अध्यादेश र पूरक बजेटलाई छोडेर हेर्दा प्रतिनिधिसभा सदस्यका रूपमा यी पूर्वअर्थमन्त्रीहरूले लगालग दुई वर्षको बजेट ल्याउने अवसर पाएनन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लागेका भट्टराईले अर्थमन्त्रीका रूपमा आर्थिक वर्ष २०६५–६६ को बजेट प्रस्तुत गरेका थिए। उक्त वर्ष असार र असोज गरी दुई वटा बजेट ल्याइएको थियो।

पूर्वअर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) बाट रोल्पा–१ मा उम्मेदवारी दिएका छन्। उनी २०६४ सालमा संविधानसभा सदस्य हुँदै राजनीतिमा उदाएका हुन्। पुनले आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट र २०६९/७० का लागि अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका थिए।

नेकपा (एमाले) बाट रुपन्देही–२ मा उम्मेदवार बनेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पाँच पटक अर्थमन्त्री बनेका नेता हुन्। उनले हाल कार्यान्वयनमा रहेको आर्थिक वर्ष २०८२–८३ सहित तीन वटा वार्षिक बजेट प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेसबाट सुनसरी–४ मा उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यसअघि प्रतिनिधिसभामा दुई पटक निर्वाचित भइसकेका छन्। उनी ऊर्जा, कानुन र सञ्चार मन्त्रीसमेत बनेका थिए।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा उम्मेदवारी दर्ता गरेका छन्। उनले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेका थिए।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत नुवाकोट–१ बाट उम्मेदवार बनेका छन्। उनले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गरेका थिए भने प्रतिनिधिसभा निर्वाचन २०७९ मा समानुपातिक सांसद बनेका थिए।

पूर्वअर्थराज्यमन्त्री उदयशमशेर जबराले ललितपुर–१ बाट उम्मेदवारी दिएका छन्। उनी २०७४ सालमा अर्थराज्यमन्त्री बनेका थिए।

निर्वाचनमा सहभागी अधिकांश पूर्वअर्थमन्त्रीहरूले आफूले प्रस्तुत गरेको बजेट आफैं कार्यान्वयन गर्ने अवसर भने पाएनन्। राजनीतिक अस्थिरताका कारण बजेट ल्याउने र कार्यान्वयन गर्ने नेतृत्व फरक रहने अवस्था लामो समयसम्म कायम रहँदै आएको छ।


सम्बन्धित समाचार