Logo

७ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा मतदाता र सरोकारवालाका जिज्ञासालाई तत्काल सम्बोधन गर्न निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरिएको यस केन्द्रले निर्वाचनसम्बन्धी सूचना आदानप्रदान गर्न र नागरिकका गुनासा सुन्न सेतुको काम गर्नेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई सही जानकारी उपलब्ध गराउन र निर्वाचन प्रक्रियालाई थप पारदर्शी बनाउन यो सेवा सुरु गरिएको हो ।

आयोगले नागरिकको सुविधाका लागि निःशुल्क टोल–फ्री नम्बर ११०२ उपलब्ध गराएको छ, जहाँ फोन गर्दा कुनै शुल्क लाग्ने छैन । कल सेन्टरमा ६ वटा छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ, जसले गर्दा मतदाताले आफ्ना प्रश्नहरूको जवाफ छिटो र छरितो पाउनेछन् । यो सेवा प्रत्येक दिन बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । विशेषगरी मतदाता नामावली, मतदान केन्द्र, र निर्वाचन आचारसंहिता जस्ता विषयमा जिज्ञासा राख्नेहरूका लागि यो केन्द्र उपयोगी हुने विश्वास गरिएको छ ।

प्रविधिको उच्चतम प्रयोग गर्दै आयोगले कल सेन्टरलाई निकै प्रभावकारी बनाएको छ, जसमा एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नबस्ने आधुनिक प्रणाली जडान गरिएको छ । यसले गर्दा धेरै व्यक्तिले एकै समयमा फोन गर्दा पनि व्यस्त हुने झन्झट बेहोर्नु पर्ने छैन । निर्वाचनलाई सूचनामैत्री बनाउने आयोगको यो कदमले आम नागरिकमा निर्वाचनप्रति थप विश्वास र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार