Logo

७ माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनको अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना तोकिएको समयभित्र बुझाउन अनुरोध गरिएको हो।

प्रशासनले माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकैको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सबै हतियारधनीलाई अपील गरेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

उनका अनुसार हाल बुझाइएका हातहतियारहरू आगामी चैत २० गतेपछि सम्बन्धित हतियारधनीलाई फिर्ता गरिनेछ।

तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले चेतावनी दिएको छ।


सम्बन्धित समाचार