४ चैत्र, काठमाडौं । खोटाङको केपिलासगढीमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको पृष्ठभूमि निकै भावुक र वियोगान्तपूर्ण रहेको खुलेको छ ।
संयुक्त अधिराज्य (यूके) मा मृत्यु भएकी मनमछी राईको अन्तिम संस्कारका लागि काठमाडौँबाट गृहजिल्ला खोटाङ उडेको परिवार सवार हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो । मृतकका श्रीमान् नागमणि राईसहित छोरा, छोरी र आफन्तहरू बोकेर उडेको ‘९एन–एएफक्यू’ कलसाइनको उक्त हेलिकप्टर मध्यान्ह ११ः५१ बजे केपिलासगढी– २, खार्ताम्छाको बालाबेसीमा अवतरण गर्ने क्रममा पल्टिएको थियो ।
पारिवारिक स्रोतका अनुसार, यूकेबाट ल्याइएको शव र परिवारका पाँच सदस्य एउटै हेलिकप्टरमा अट्ने अवस्था नभएपछि शवलाई सडकमार्गबाट शववाहनमा पठाइएको थियो भने परिवारका सदस्यहरू हेलिकप्टरमार्फत गाउँ पुगेका थिए । आफ्नै आँगनमा उत्रिएर मृतकको अन्तिम बिदाइको तयारीमा रहेका उनीहरूका लागि यो दुर्घटना अर्को नसोचेको मानसिक र शारीरिक चोट बन्न पुग्यो ।
हेलिकप्टरमा नागमणि राई, छोरा बालकुमार, छोरी सम्झना, आफन्तहरू लक्ष्मी राई र काजीबहादुर राई सवार थिए, जसमध्ये काजीबहादुरको खुट्टामा सामान्य चोट लागेको छ भने अन्य सदस्य र चालक दल सुरक्षित रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार, अवतरणका क्रममा सन्तुलन बिग्रेर पल्टिएको हेलिकप्टरबाट घाइते राईलाई तत्कालै अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ ।
श्रीमतीको वियोगको पीडा बोकेर सात समुन्द्र पारिबाट गाउँ फर्किएका नागमणि र उनको परिवारका लागि यो उडान जीवनकै सबैभन्दा कठिन र भयावह क्षण सावित भएको छ । एकातिर सडकमार्गबाट शव आउँदै गरेको र अर्कोतिर परिवार चढेको हेलिकप्टर दुर्घटनामा परेको खबरले पूरै गाउँ यतिबेला स्तब्ध र चिन्तित बनेको छ ।

















